नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्।
मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए ।
नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताए । नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताए । उनले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताए ।




