गठबन्धन चुनावसम्मका लागि होइन : डा.शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे। उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गरे। उनले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गरे।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे। उनले एमसीसी देश र जनताकै हितमा छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्नेमा जोड दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले पनि जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए। कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको कांग्रेस जनताको चाहनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरे।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप