एजेन्सी । युक्रेनले राष्ट्रसंघको उच्च अदालतमा रुसविरुद्ध नरसंहारको योजना बनाएको भन्दै मुद्दा दायर गरेको छ । युक्रेनले युद्ध रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।
साथै आक्रमणबाट भएको क्षतिपूर्ति पनि भराउन युक्रेनले माग गरेको अदालतले उल्लेख गरेको छ । हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालतमा दायर गरिएको मुद्दामा रुसलाई तत्काल सैनय कारबाही अन्त्य गर्ने आदेश दिन माग गरिएको छ । रुसले गत बिहीबार युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गर्दै आक्रमण सुरु गरेको थियो ।
युक्रेनले दायर गरेको मुद्दामा रुसले लुहान्स्क र डोनेट्स्क क्षेत्रमा नरसंहार भएको गलत दाबीलाई आधार मान्दै आक्रमण गरेको उल्लेख छ । साथै उसले अहिले युक्रेनमा नरसंहारको योजना बनाइरहेको आरोपसमेत लगाइएको छ । अदालतले छिटै नै यस विषयमा सुनुवाई सुरु गर्ने अपेक्षा छ । तर, अदालतको फैसला भने नभएका उदाहरण पनि छन् ।
अदालतको न्याय प्रक्रियाको कारण कुनै फैसला आउन वर्षौं लाग्ने गरेको छ । तर, युक्रेनले दायर गरेको प्रोभिजनल मेजर्सको मुद्दामा भने छिटै फैसला आउन सक्छ । यसअघि नै रुसमाथि युक्रेनले क्रिमियामा आधिपत्य जमाएको विषयमा हालेको मुद्दा अझै पनि विचाराधीन छ । अदातलले गर्ने फैसला विभिन्न मुलुकको आन्तरिक कानुनसँग उल्झिने भएकाले विवादमा पनि पर्दै आएको छ ।




