काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक केहीबेर अघि शुरु भएको हो ।
एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहिन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन् । यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
एमसीसी संसद्मा टेबुल गर्न दिनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक छन् भने एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।
जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् । एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिँदै गर्दा प्रधान मन्त्री शेरबहादुर देउवा संसद्बाट पारित गराउन तीव्र दबाबमा रहेका छन् । उनले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
सत्ता गठबन्धनको बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक छ । यी दुवै बैठकमा एमसीसी संसद्को कार्यसूची बनाउने सहमति भए आइतबार नै संसद्मा टेबुल गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । दिउँसो १ बजे संसद् बस्दै छ । त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका हुन् ।
५० करोड अनुदान सहयोगको एमसीसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन ।




