सिन्धुपाल्चोकमा छिमेकी आफन्त युवकले गरे दिदी-भाइको हत्या

काठमाडाैँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एक व्यक्तिले दुई जना छिमेकीको हत्या गरेका छन् । बेलेफी-७ माथिल्लो चिम्लिङ निवासी ३८ वर्षीय विजय तामाङले बासको भाटा र ढुंगाले प्रहार गरेर छिमेकी आफन्तको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका तामाङले सोही ठाउँकी ७० वर्षीया बासुमाया तामाङ र उनका भाइ ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी कक्षकुमार बस्नेतले जानकारी दिए । ‘घटना गए राति पौने सात बजेतिरको हो,’ डीएसपी बस्नेतले भने, ‘हत्याको कारण खुलिसकेको छैन । हामी थप अनुसन्धान गरिरहेका छौं ।’ आरोपी तामाङ मृतक सन्तवीरका भतिज नाता पर्ने व्यक्ति हुन् ।

तामाङले अन्धाधुन्द बाँसको भाटा र ढुंगाले प्रहार गर्दा दुबैको घटनास्थलमै मृत्यु भएको बस्नेतले बताए । ‘विवादको क्रममा विजयले सन्तबीरलाई कुटपिट गरेको देखेपछि बासुमाया छुट्याउन गएको देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘त्यही क्रममा उसले बासुमायाको पनि हत्या गरेको हो ।’ मृतक दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे लगिएको छ । हत्यापछि फरार भएका तामाङलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैको सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री