प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ ।
प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘‘मधेश” र राजधानी ‘‘जनकपुरधाम” टुङ्ग्याउन सफल मधेश प्रदेशसभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ। सङ्घीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रुपान्तरण सम्बन्धी प्रदेश सरकारबाट आएका महत्वपूर्ण विधेयकहरु पारित गर्ने यस प्रदेशले बनाएका कतिपय महत्वपुर्ण ऐन कार्यान्वयनमा चुनौती देखिएको प्रदेशसभा सदस्यहरु बताउँछन्।
स्वास्थ्य सेवा, प्रदेश पदक, आर्थिक, प्रदेश प्रहरी सेवा, दलित सशक्तिकरण, प्रदेश निजामती सेवा, प्रदेश आर्थिक, प्रदेश विनियोजन, जनलोकपाललगायतका महत्वपूर्ण ४४ वटा विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। उनका अनुसार प्रदेश आवश्यक सेवा सञ्चालन, प्रदेश बालिका संरक्षण र खोप सेवा सञ्चालन गर्ने विधेयक प्रदेशसभामा छलफल हुन बाँकी छ। प्रदेशसभा अन्तर्गतको विभिन्न समितिमा नौ वटा विधेयक विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सचिवलायका सचिव यादवले बताए।
प्रदेश सरकारको विभिन्न मन्त्रालयहरुले तयार गरी विषयगत समितिमा पठाएको प्रदेश जाँचबुझ आयोग गठन, मदर्सा शिक्षा बोर्ड गठन, प्रदेशसभा सञ्चालन सम्बन्धी र प्रादेशिक सवारी तथा यातायात, प्रदेश प्रशासन, संस्था दर्ता सम्बन्धी, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना सम्बन्धी, प्रदेश सहकारी, कर तथा गैरकर राजस्व लगाउने सम्बन्धी विधेयक विचाराधिन अवस्थामा रहेको सचिव यादवको भनाइ छ ।
प्रतिकृया दिनुहॊस