काठमाडाैँ । पश्चिमी वायुको प्रभावले देशका धेरै क्षेत्रको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको हो ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागमा भने हिमपातको सम्भावना रहेको छ । राति पनि प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश-१ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार बुधबार रातिबाट फेरि पश्चिमी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ ।




