सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्न सरकारले पाइला चाल्ने प्रतिवद्धता जनाएकी छिन् । काठमाडौंमा आयोजित इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)को वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री झाँक्रीले इन्टेरियरको क्षेत्र सधैं ओझेलमा पर्दै आएकाले यसको प्रयोग विकासको क्षेत्रमा गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा आइडिया नेपालका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको क्षेत्रको विकास र यससँग सम्बन्धित इन्टेरियर डिजाइनरहरुको उत्थान र प्रगतिको निम्ति लागि पर्ने बताइन्। अध्यक्ष कक्षपतिले इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादनसँग सम्बन्धित बिषयवस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउँदा इन्टेरियरलाई पनि समावेश गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा पुर्याएको योगदानका लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो।




