श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसियासहित विभिन्न सात देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको जानकारी दिए।

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसियाबाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस, बङ्गलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरेको जानकारी उनले दिए ।

प्रवक्ता कुँवरले भने, ‘भारतको नयाँदिल्लीमा जस्तै नेपालीका प्रमुख श्रम गन्तव्य देशमा पनि नेपालीको सुरक्षाका लागि प्रहरी सहचारीको आवश्यकता देखिएको छ । त्यसैले ती देशमा पनि प्रहरी सहचारी राख्नुपर्छ भनेर गृह मन्त्रालयमार्फत प्रस्ताव अगाडि बढाएका छौँ ।’

प्रवक्ता कुँवरका अनुसार ती देशमा रहेका नेपाली श्रमिकलाई सहयोग पु-याउने आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको हो । यसैगरी गन्तव्य देशको अपराधीलाई त्यहाँको प्रहरीसँग सहकार्य गरे कारबाही गर्ने र ती देशमा रहेर नेपाली ठग्ने गरेकालाई प्रक्राउ गरी स्वदेश ल्याउनेमा केन्द्रित भएर काम गर्ने उद्देश्य रहेको प्रवक्ता कुँवरले बताए।

त्यसो त नेपाल प्रहरीले पाँच वर्षअघि श्रम गन्तव्य देशमा प्रहरी सहचारीका लागि गरेको प्रस्ताव गृहबाट स्वीकृत भए पनि परराष्ट्र मन्त्रालयमा गएर रोकिएको थियो । पछिल्लो पटक श्रम गन्तव्य देशमा नेपालीले नेपालीलाई गर्ने आपराधिक गतिविधि नियन्त्रण गर्न दूतावासमा पनि प्रहरी सहचारीको आवश्यकता महसुस गरिएकाले अहिले कतैबाट रोकावट नहुने प्रहरी प्रवक्ता कुँवरले बताए ।

उनका अनुसार यसबाहेक गन्तव्य देशमा सानासाना गल्ती वा बिनाकारण लामो समय जेल सजाय तथा ब्लडमनीजस्ता ठूलो परिमाणमा हुनसक्ने जरिवानाबाट जोगाउन पनि प्रहरी सहचारी स्थापना भएमा धेरै सहज हुनेछ ।

पूर्वश्रम सचिव पूर्णचन्द्र भट्टराईले नेपालका प्रमुख श्रम गन्तव्य देशमा प्रहरी सहचारी राख्ने वा नराख्ने विषयमा एकीकृत अध्ययन गरेर ती देशमा आवश्यकता महसुस भएमा राख्नलाई ठूलो समस्या नहुने बताए। उनले भने, ‘अहिले प्रहरी सहचारी राख्ने पछि निकाल्नुपर्ने अवस्था आउनुभन्दा पहिले नै अध्ययन गरेर राख्न सकियो भने त्यसबाट आउने परिणाम पनि राम्रै हुन्छ ।’ -गाेरखापत्रबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री