वैदेशिक रोजगार विभागको तथ्याङ्कमा ५२ प्रतिशतभन्दा बढी श्रमिक विनासीप श्रम स्वीकृति लिएर बिदेसिने गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन वर्षअघि न्यूनतम एकमहिने सीप नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने घोषणा गरेको थियो । तर, त्यो कार्यान्वयन नभएको विभागकै तथ्याङ्कले पुष्टि गरेको छ ।
मन्त्रालयले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने घोषणा गरे पनि नियम नबन्दा तालिमविना नै जान बाध्य छन् ।
वैदेशिक रोजगारी बोर्डका निर्देशक दीनबन्धु सुवेदीले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने तर त्यो व्यवस्था अहिलेसम्म गर्न नसकिएको स्वीकार गर्नुभयो ।
विभागका आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर जानेको तथ्याङ्कमात्रै हेर्दा ५२ प्रतिशतभन्दा बढी अदक्ष श्रमिकले श्रम स्वीकृति लिएर बिदेसिएका छन् । सो अवधिमा एक लाख ४९ हजार २२९ जनाले श्रम स्वीकृति लिएकोमा ७८ हजार ४३० जना अदक्ष रहेका छन् । यस्तै ५८ हजार ४६२ दक्ष, ११ हजार ४७४ अर्धदक्ष, प्रोफेसनल १३६ जना र उच्च दक्ष भएका ३६ जना श्रमिक गएका छन् ।
त्यसैगरी, विभागका अनुसार आव २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामध्ये ८० हजार ३८२ जना अदक्ष र ७० हजार ४२६ जना दक्ष श्रमिक थिए । सो अवधिमा ६१ जना उच्च दक्ष, प्रोफेसनलमा २४६ जना, अर्धदक्ष १५ हजार ५८३ जना रहेका छन् ।
गत आर्थिक वर्षमा कोरोना भाइरसका कारण बिदेसिने श्रमिकको सङ्ख्यामा गिरावट आएको थियो । अहिले श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएसँगै अदक्ष श्रमिकका रूपमा जाने सङ्ख्या पनि उच्च छ । त्यसले विदेशी भूमिमा सिकेको सीपलाई मान्यता नदिई पुनः अदक्ष हैसियतमा राखिनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको तथ्य स्थापित भएको विज्ञको भनाइ छ ।गोरखापत्रबाट
प्रतिकृया दिनुहॊस