निद्रामै निल्यो पहिरोले

कुश्मा । गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले घर नै पुरियो । गड्याङगुडुङको आवाज आएपछि राति एक बजे बमबहादुर र उनकी श्रीमती घर बाहिर निस्कन सफल भए तर घरभित्रको माथिल्लो खाटमा सुतेका छोरा विकास परियार भने पहिरोले पुरिए । भर्खर कमाइ गर्न थालेको छोरो पहिरोले पुरिएपछि बमबहादुरको परिवारमा ठूलो बज्रपात परेको छ ।

अध्यारोमा आफ्नै ज्यान जोगाउन मुस्किल भएपछि बाहिर निस्केर विकासलाई ठूलो स्वरमा चिच्चाएर बोलाए तर उनी निद्रामै भएकाले सुनेनन् जतिबेला उनलाई पहिरोले पुरिसकेको थियो । बमबहादुरका २ वटा छोरा छन् । जसमध्ये विकास जेठा हुन् भने अर्का विद्यालय पढ्दै छन् ।

त्यसपछि पहिरोले पुरै घर पुरेकाले विकास पनि पुरिएका थिए । उनको शव बिहान सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा पहिरो पन्छाएपछि मात्र भेटिएको थियो । विपन्न तथा सुकुम्बासी परिवारका २६ वर्षीय विकास ट्याक्टर चालक हुन । दिनभरी ट्याक्टर चलाएर फर्किएका उनी सुतेकै ठाउँमा चीर निद्रामा परे । पहिरोका कारण बमबहादुरको मात्र हैन स्थानीय विपन्न परिवारका अन्य १४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान हेर्दा पहिरोले असर नगरेको कुनैपनि घर नरहेको वडा नं. ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गाउँको इमान्दार तथा भविष्यमा आशालाग्दो युवालाई पहिरोले पुरेर ज्यान गुमाएपछि सिंगो दलित बस्ती शोकमा डुबेको छ ।

पहिरोका कारण ज्यान गुमाएका विकासको परिवारलाई घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले रु. एक लाख रुपैयाँ राहत प्रदान गरेका छन् । विकासको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गर्न ल्याइएको भएपनि गर्नुनपर्ने भन्दै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेर सात घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी ७ घरपनि बस्न नमिल्ने गरी क्षति भएको प्रहरीले जनाएको छ । अन्य २२ घर समेत जोखिममा छन् । वर्षाकै कारण जलजला गाउँपालिका वडा न ७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य छन् । घाइते मध्ये गम्भीर अवस्था भएका भीमलाललाई थप उपचारका लागि काठमाडांै रिफर गरिएको छ भने श्रीमती तुलसीदेवी आचार्य र पाहुना बस्न आएकी नारायणी आचार्यलाई थप उपचारको लागि पोखरा लगिएको छ । आचार्यको घर समेत पहिरोका कारण पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोमा परी घरवारविहीन बनेका पीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयबासीले पहल गरिरहेका छन् । उनीहरुको राहतका लागि पहल समेत भइरहेको छ । विस्थापित परिवारलाई स्थानीयवासी तथा नजिकै रहेको विद्यालयमा राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनका अनुसार उक्त बस्तीका सबै बासिन्दाहरुलाई फरक सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था रहेकोले उपयुक्त जग्गाको खोजी भइरहेको पनि बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गर्ने निर्णय गरेको छ । उक्त निर्णय लगत्तै उद्योग वाणिज्य संघ, रेडक्रस र लायन्स क्लबको संयुक्त टोली त्रिपाल, भाडाकुडा, खाद्यान्नसहित घटनास्थलमै पुगेर वितरण गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । सबै पीडित परिवारहरुलाई एक महिनाको लागि पुग्ने खाद्यान्नसहित अन्य लत्ताकपडा र भाँडाकुडा वितरण गरिएको छ ।

वर्षाकै कारण लस्तीखोलामा आएको बाढीको कटानले आसपासका अन्य पाँच घर पनि जोखिममा परेका छन् । उक्त घरका परिवारपनि अहिले आफन्तकोमा आ श्रय लिएर बसेको प्रहरीले जनाएको छ । कतिपय पक्की घरहरु समेत खोलाको कटानले क्षतिग्रस्त बनेका छन् ।

खोलाले बगाएर मृत्यु

कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको छ । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ विकलाई खोलाले बगाएको हो । खोला तर्न लाग्दा उनलाई खोलाले बगाएको प्रहरीले बताएको छ । उनको शव सय मिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ । खोलाले बगाएको ठाउँ नजिकै झोलुंगे पुल भएपनि खोला तर्न खोज्दा उनलाई बगाएको प्रहरीको भनाइ छ ।

बेनी मालढुंगा सडक सञ्चालन

कुश्मा नगरपालिका वडा नं. १ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक सञ्चालन भएको छ । अविरल वर्षाले जलजला गाउँपालिका वडा नंं. ८ लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीले सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यावसायीको पहलमा सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदी किनारमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु सकुसल छन् ।

०००

१)पर्वतको जलजलामा पहिरोले पुरिएर ज्यान गुमाएका विकास परियार शव निकाल्दै नेपाली सेनाको टोली

२) पहिरो पन्छाउँदै सुरक्षाकर्मी र स्थानीय

३) लस्ती खोलाको बाढीले जोखिममा परेका घर ।

अन्नपूर्णपाेष्ट

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस