नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभा सम्पन्न, १७ प्रतिशत लाभांश पारित

शुक्रबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअलमार्फत आयोजना गरिएको यस बैंकको ६२ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालको सभापतित्वमा सम्पन्न भयो। यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको ०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो।

सभाले हालको चुक्ता पूँजी रु.१२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ को ३ (तीन) प्रतिशतका दरले हुन आउने रु.३७ करोड ९१ लाख २ हजार ७५८/७२ (अक्षेरुपी सैंतिस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठावन्न रुपैंयाँ र बहत्तर पैसा मात्र) नगद लाभांश (लाभांश करसमेत) र चुक्ता पूँजीको १४ (चौध) प्रतिशतका दरले हुन आउने रु.१ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २०७/३६ (अक्षेरुपी एक अर्ब छयहत्तर करोड एकानब्बे लाख छयालिस हजार दुई सय सात रुपैंयाँ र छत्तिस पैसा मात्र) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्तापूँजीमा वृद्धि गरी रु.१४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१/३० (अक्षेरुपी चौध्र अर्ब चालिस करोड उनान्साठी लाख चार हजार आठ सय एकतिस रुपैंयाँ र तीस पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिरकुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरुसमेत सर्वसम्मतरुपमा पारित गरेको छ।

अन्त्यमा, सभाका सभापति तथा सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री