काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनापनि विदेशी मुद्रा विप्रेषण ( रेमिट्यान्स) आप्रवाह ७.५ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को रिपोर्ट अुनसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
प्रतिकृया दिनुहॊस