मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ।

काठमाडौँमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँयाँ ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंयाँ ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। अध्यक्ष शाहले भने–‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताइन्। ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौं । जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ।’– सिइओ खुञ्जेलीले भनिन्।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैँयाँले बृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँयाँ पुगेको छ। यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैँयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँयाँ खुद मुनाफा आर्जन गरेको छ।

मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन्। सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैंयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंयाँ पुनर्कर्जाहरु प्रवाह गरेको छ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस