महाधिवेशन प्रतिनिधि भन्छन्- अग्रजको अनुभव र युवाको जोस आवश्यक

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रूपान्तरणको खाँचो रहेको बताउँछन् । यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रूपान्तरण रहेको छ ।

कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो ? यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ’ सिंह भन्छन् ।

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरू अगाडि आउनुपर्ने बताउँछन् । ‘पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन् सबल र सक्षम बन्न सक्छ’ उनले भने । कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्रीले देशलाई आधुनिक समाज र पुस्ताले चाहेजसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वयन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए । ‘उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट सङ्गठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रूपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो’ क्षेत्रीले भने ।

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताउँछन् । ‘अग्रजको सल्लाह र युवा र महिला दिदीबहिनीको साथ लिएर पार्टीलाई रूपान्तरण गर्नु आजको आवश्यकता हो’, उनी भन्छन् । राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । देश विकासका लागि नयाँ नेतृत्व, नयाँ सोच, नयाँ शैलीबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने जोशी बताउँछन् । –राससकाे सहयाेगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस