प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनु पर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् ।
प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गरे। उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए ।
पार्टीकाे आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।” देउवाले भने।
लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउनुपर्ने उल्लेख गरे।
बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको बताए।
कर्णाली कांग्रेस प्रदेश सभापतिमा तीन जनाले गरे उम्मेद्वारी दर्ता
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ।
नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता गराएका हुन्।
देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् ।
यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन्। सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।




