नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले आज पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डेले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गरे। पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उनले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पारे।
उनी विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य र २०७४ सालको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।




