कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आजदेखि, तीन हजार प्रतिनिधि छानिंदै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आज (सोमबार) प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार करिब ११५ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ, जहाँबाट झण्डै ३ हजार महाधिवेशन प्रतिनिधि छानिने छन् । एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिन्छन् । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा समेट्ने निर्णय भएकाले निर्वाचन क्षेत्रपिच्छे संख्या तलमाथि हुने बताए ।

उनका अनुसार सोमबार प्रदेश–१ का २८ मध्ये २६ क्षेत्रमा निर्वाचन हुँदैछ । एक–एक क्षेत्र भएका ताप्लेजुङ र संखुवासभामा दशैंअघि अधिवेशन भइसकेको छ । वाग्मतीका ३३ मध्ये २८ क्षेत्रमा निर्वाचन हुँदैछ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही दुई जिल्लामध्ये रसुवामा जिल्ला निर्वाचन अधिकृत पुनः खटाइसकेको निर्वाचन समितिले जनाएको छ । मंसिर ९ गतेसम्म अधिवेशन गरिसक्नुपर्ने छ ।

कार्यतालिकाअनुसार मंसिर १० गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । तर, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने सोमबार अधिवेशन नहुने भएको छ । तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्ला बाहेक अन्य ठाउँमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रतनिधि सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू सदस्य मानिन्छन् । उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार पनि अधिवेशनका सदस्य रहने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ ।

अधिवेशनले २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने छ । विधानअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिए बमोजिम निर्वाचित गर्ने विधानमा उल्लेख छ । तर, पछिल्लो समय कांग्रेसले दलिततर्फ एक जना र मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्तिमध्येबाट थप एक जना महाधिवेशन निर्वाचित गर्न परिपत्र गरेको छ । -कान्तिपुरबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारी वर्षापछिको बाढीपहिरोमा परी ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस