काठमाडौँ । भारतमा अहिले सेल्फ मेड वूमनको नाममा फल्गुनी नायरको निकै चर्चा चलिरहेको छ । फाल्गुनीले संचालन गरेको ब्यूटी ई-कमर्श कम्पनि ‘नायका’ बुधबार बम्बे स्टक एक्सचेन्जमा सुचिकृत भएसँगै नायकाको शेयरमा उछाल आएको थियो ।
नायका शेयर बजारमा सुचिकृत भएपछि अब फाल्गुनी भारतको अरबपतिको क्लबमा प्रवेश गरेपछि उनको चर्चा बढेको हो । उनलाई भारतको सबै भन्दा धनि सेल्फ मेड वूमन भनिएको छ । उनको कुल सम्पत्ति ५.६ अर्ब डलर पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आईआइएम अहमदावादमा पढेकी फल्गुनीले भारतीय कम्पनिहरु महिन्द्रा, डाबर, टाटा मोटर्स जस्ता कम्पनिहरुमा काम गरेपछि २०१२ मा आफ्नै ब्युटी प्रडक्ट सम्बन्धि कम्पनि खोलेकी थिइन् । साथै उनले ब्यूटी इ-कमर्श स्टार्ट अपको पनि शुरवात गरिन । शुरुमा ७ करोडको लगानी गरेकी फल्गुनीले विभिन्न लगानी गर्ने कम्पनिलाई आकर्षित गर्दै कम्पनीलाई ठुलो बनाएकी थिइन् ।
पहिलो चार बर्षमा उनले नायका’ संचालनमा निकै संघर्ष गर्नु परेको थियो । तर अहिले भारतमा ब्युटी प्रडक्टसको सबै भन्दा ठुलो प्लेटफर्म बनेको छ । २०२० मा नायका पहिलो पटक एक अर्ब डलरको कम्पनि बनेको थियो ।
नायकामा अहिलेसम्म १५ लगानीकर्ताले ३४२ मिलियन डलरको लगानी लगाएका छन् । यस कम्पनिमा बलिवुड अभिनेत्रीहरु कट्रिना कैफ र आलिया भट्टले समेत लगानी गरेका छन् । नायकामा फल्गुनीको ५० प्रतिशत शेयर रहेको बताइएको छ ।
नायका ब्युटी रिटेल कम्पनि भएकाले अनलाइनका साथै अफलाइन पनि समान बेच्ने गर्दछ । अहिले नायकासँग हरेक महिना ५५ लाख सक्रिय प्रयोगकर्ता छन् । ७५ भन्दा बढी स्टोर्स छन् भने नायकामा १२ सय भन्दा बढी ब्राण्डका ७ लाख भन्दा बढी प्रोडक्ट उपलब्ध रहेका छन् । अहिले आएर नायकाले आफ्नो ब्राण्ड पनि लन्च गरिरहेको छ ।
अहिले नायका फेसनको प्रमुख कार्यकारी अधिकृत फल्गुनीकी छोरी अद्वैता नायर रहेकी छन् । अद्वैताले हार्वर्डबात एमबीए गरेकी छन् । त्यस्तै नायका डट कमको प्रमुख कार्यकारी अधिकृतमा उनका छोरा अंचित नायर रहेका छन् । साथै उनले अफलाइन स्टोरलाई पनि बढाउदै लाग्ने योजनामा रहेका छन् । हाल ७५ स्टोर रहेको नायकाले अब छिट्टै यो संख्या १८० पुर्याउने बताइएको छ ।
अहिले नायकामा हरेक मिनेटमा १०४ प्रडक्टको अर्डर आउने गर्दछ भने हरेक महिना करिब १३ लाख अर्डर आउने गरेको छ ।




