दैलेख । स्थानीय तहको निर्देशनको बेवास्ता गर्दै दैलेखमा गिट्टीबालुवा अवैध रूपमा उत्खनन र निकासी हुँदै आएको छ ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले गत असार १० गते नदीजन्य पदार्थको अवैध उत्खनन र निकासीमा रोक लगाउँदै कडाइको सङ्केत गरेको थियो । तर, प्रदेश सरकारले कारबाहीको अधिकार पाउने निकाय नतोक्दा उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको हो ।
हाल कर्णाली नदीको तल्लो डुङ्गेश्वर, लोहोरेखोला, छामखोला, पादुका खोला, रामघाट खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र निकासी हुँदै आएको छ ।
अवैध उत्खननका कारण ती खोलामा रहेका अधिकांश पक्की पुल जोखीममा परेका छन् । कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरको पुल सबैभन्दा बढी जोखीममा रहेको जिल्ला समन्वय समिति दैलेखले बताएको छ ।
तल्लोडुङ्गेश्वर पुलबाटै सुर्खेत, दैलेख, अछाम, कालिकोट र जुम्लालगायतका जिल्लाका लागि दैनिक ३ सय ट्रक, ट्याक्टर, बस र जीप आवतजावत गर्दै आएका छन् ।
पुलबाट ठूला सवारीसाधन आवतजावत गर्दा पुलमा आउने आवाजले आफूहरू त्रसित हुने गरेको चालक लोकेन्द्रबहादुर शाहीले बताए । विकास निर्माणको जिम्मा लिएका लिएका ठेकेदार कम्पनी र उपभोक्ता समितिले पनि अवैध रूपमा उत्खनन गरिएको गिट्टी–बालुवा प्रयोग गर्दै आइरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले रातिको समयमा प्रहरी परिचालन गरेर अवैध बालुवा गिट्टी नियन्त्रणमा लिइरहेको बताए । नियन्त्रणमा लिएको सवारीसाधनलाई जरीवानासमेत गरिएको उनले जानकारी दिए ।
रामाघाट खोला, तल्लो ढुङ्गेश्वर, चुप्रा खोला, लोहोरे खोला, छामघाट खोलालगायतका स्थानहरूबाट भदौसम्म बालुवागिट्टीको निकासी रोक्ने निर्णय सबैलाई जानकारी गराइएको जिससका संयोजक प्रेम थापाले बताए ।
तपाईंको प्रतिकृया




