काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार मनाउँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
उनले सन्देशमार्फत अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन भनेका छन् । कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।
उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुसी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।



