लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छिन्।

उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन्।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिएर काम अघि बढाउनुपर्ने बताइन्।

यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उनले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न दृढ सङ्कल्प लिनुपर्ने बताइन्।

लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताइन्।

विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन्।

देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नुपर्ने उल्लेख गर्दै उनले यहाँको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पुर्याउने बताइन्।

करिब दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो। सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो। एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस