काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बिग मर्जरको कुनै बिषय नसमेटेको स्पष्ट पारेको छ । अहिले चौतर्फी रुपमा वाणिज्य बैंकहरुको संख्या घटाउन ‘बिग मर्जर’मा जानुपर्ने चर्चाहरु चलिरहदा राष्ट्र बैंकबाट यस्तो धारणा आएको हो ।
मिडिया इन्टरनेसनलद्वारा आज राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बाहिर हल्ला चलेजस्तो ‘बिग मर्जर’को कुनै तयारी नभएको स्पष्ट पारे । बिग मर्जर आवश्यक भए पनि अहिलेको समय उपयुक्त नभएको उनले बताए ।
मर्ज तथा एक्वीजिसनको नीति लिँदा गरिएको चुक्ता पुँजी वृद्धिको अझै पूर्ण रुपमा व्यवस्थापन हुन नसकेकाले अहिले नै बिग मर्जरमा जाँदा समस्या थपिने उनले बताए ।
‘यसअघि गरिएको चुक्ता पुँजी वृद्धिले नै पूर्णता पाइसकेको छैन, त्यो पूर्णता नहुँदै बिग मर्जरमा जाँदा समस्याहरु थपिन्छ’ थापाले भने ।
राष्ट्र बैंकले यसअघि लिएको मौद्रिक नीतिले वाणिज्य बैंकको संख्या सोचेअनुसार घट्न नसकेको भन्दै कतिपयले ‘बिग मर्जर’मा जानुपर्ने सुझाव दिँदै आएका छन् ।




