काठमाडौं । बुध्द एयरको एघारौं जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा अवतरण गरेको छ । फ्रान्सको इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज हिजो काठमाण्डौ अवतरण गरेको हो ।
फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हुदैँ जहाज काठमाण्डौं आइपुगेको हो ।
कम इन्धन खपत गर्ने एटिआर जहाज वातावरणमैत्री मानिन्छ । आफ्ना अन्य एटिआर जहाजमा जस्तै यो जहाजमा पनि फराकिला र आरामदायी सिट रहेको कम्पनीले जनाएको छ । यो जहाजको व्यवसायीक उडान सुरु भएपछि अन्य जहाजहरूको नियमित चेकजाँच तथा मर्मतसम्भार अझ सहज हुनेछ । थपिएको जहाजले केहि सातादेखि व्यवसायीक उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।




