काठमाडौं । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेकाले यसमा सबै विदेशी दातृ निकायको सहयोग आवश्यक रहेको बताए ।
‘हामीले ऊर्जा र जलविद्युतमा महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं,’ उनले भने, ‘जापानबाट ऋण सहयोग र लगानीको अपेक्षा गरेका छौं ।’
जापानको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि वातावरण बनाईदिन समेत राजदूत साईगोसँग मन्त्री पुनले आग्रह समेत गरे ।
साईगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको धारणा राखे ।
मन्त्री पुनले जाजरकोटस्थित ४ सय १० मेगावाटको नलसिंहगाड जलाशय जलविद्युत आयोजना निर्माणमा सहयोग गर्न जापानलाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहॊस