काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली नेपाल आइपुगेको छ । चारदिने भ्रमणका लागि दुई उपाध्यक्षसहितको टोली केहीबेर अघि कतार एयरको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
एमसीसीको पक्ष र विपक्षमा बहस चलिरहेको बेला भएको यो भ्रमण भएपछि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो । उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।
काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छन् । सरकारले हालै एमसीसी परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ ।
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारसम्बन्धी करिब ५५ अर्ब रुपैयाँको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्न २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरिएको थियो । त्यसलगत्तै सम्झौतालाई लिएर पक्ष र विपक्षमा बहस चलिरहेको छ ।




