महाधिवेशनबाट पार्टीभित्रको ‘गुट’ र ‘गिरोह’ समाप्त पारौं : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वडा अधिवेशन शुरु हुँदै गर्दा कार्यकर्तामा अपिल गरेका छन् । कांग्रेस कम्युनिष्ट भन्दा कमजोर हुनुको कारण गुट र गिरोह भएको भन्दै उनले त्यसलाई समाप्त पार्न अपिल गरेका हुन् ।

‘कांग्रेसको १४ औं महाधिवेशन उत्सवको रूपमा मात्र हाम्रोसामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरूलाई जिम्मेवार र विवेकपूर्ण रूपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ’, कोइरालाले शुक्रबार भनेका छन्, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ ।’

उनले महाधिवेशनसमेत समयमा हुन नसकेको भन्दै त्यसको दोष कसैलाई दिनेभन्दा आगामी दिनमा यस्तो परिस्थिति आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । ‘विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थ्यौं’, कोइरालाले भनेका छन्, ‘कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्नँ । यति मात्र भन्छु– कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सबैको हो, कांग्रेसजनको हो ।’

उनले कांग्रेसको इतिहास गौरवशाली भए पनि वर्तमान इतिहास सुहाउँदो नभएको बताएका छन् । ‘कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन, यसैले पार्टीलाई पुनः गौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सबै महाधिवेशनमा सरिक हुनुपर्नेछ’, कोइरालाले भनेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ ।’

उनले अधिवेशनलाई जित र हारभन्दा आन्तरिक लोकतन्त्रको अभ्यासमा केन्द्रित गर्न आग्रह गर्दै गुट र गिरोहबाट पार्टीलाई मुक्ति दिन पनि अपिल गरेका छन् । ‘स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत उचाइमा पुग्नेछ । हामीले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौं’, कोइरालाले थप भनेका छन्, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । उत्सवको रूपमा आएको चौधौँ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलीभूत हुनुपर्नेछ ।’

उनले महाधिवेशनमा हुने सामान्य गल्ती–कमजोरीले कांग्रेसको इतिहासलाई अन्याय हुने भन्दै ती कमजोरीले कांग्रेसलार्ई भावी पुस्तामा असान्दर्भिक बनाउनेतर्फ सचेत गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री