काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वालकोट वार्तालाई बेइमानी एवम् धोखाधडीको निरन्तरताको संज्ञा दिएका छन् ।
नेता नेपालले नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका उल्लेख गर्दै यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न पार्टी कार्यकर्तालाई अपिल गरेका हुन् ।
नेता नेपालले पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल पनि गरेका छन् ।
उनले भनेका छन्-
दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।




