काठमाडाैं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले मत पाएका हुन् । उनले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको पक्षमा १६५ मत ल्याउँदै ‘सदनले विश्वास गरेको छ’ भन्ने पुष्टि गरे ।
योसँगै देउवा नेतृत्वको सरकारले निरन्तरता पाएको छ । सर्वोच्च अदालतको परमादेशबाट गत असार २८ गते प्रधानमन्त्री बनेका देउवाले संविधानतः एक महिनाभित्र विश्वासको मत लिनुपर्थ्यो । तर, संविधानको रक्षाका लागि भन्दै देउवाले चाँडै विश्वासको मत लिने भएका हुन् ।
देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ मत आवश्यक पर्थ्यो, उनले १६५ मत पाए । माओवादी केन्द्र, माधवकुमार नेपाल-झलनाथ खनालपक्षीय एमाले, डा. बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनबाट प्रधानमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता देउवाले विपक्षमा ८३ मत पाए । जम्मा सहभागीको संख्या २४९ थियो । जसमा राजेन्द्र लिङ्देन भने तटस्थ रहे ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन् ।
प्रतिकृया दिनुहॊस