कांग्रेसको प्रश्न- वीपी प्रतिष्ठानको आन्दोलनमा प्रधानमन्त्री ओली किन मौन ?

काठमाडौँ । नेपाली कांग्रेसले धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ । वीपी प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थी केही दिनदेखि आन्दोलनमा छन् । उनीहरूको माग सम्बोधन गर्न कांग्रेसले प्रधानमन्त्री ओलीसँग अपील गरेको हो ।

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी अहिलेसम्म प्रधानमन्त्री एवं कुलपति ओलीले ध्यान नदिनु चिन्ताको विषय भएको जनाएको छ । ‘वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महीना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले कुलपति हुनुको दायित्व पूरा नगरेको कांग्रेसको आरोप छ । ‘प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो,’ कांग्रेसले भन्यो, कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री