काठमाडाैँ । कैलालीमा थप निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो ।
जिल्लामा कोभिड संक्रमणदर नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
जाेशीका अनुसार सबै बैंक तथा वित्तीय संस्था बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।
तरकारी, फलफूल, खाद्यान्न, डेरी, मासु, खानेपानी, ग्याँस पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ ।
त्यस्तै विवाह ब्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसै गरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले बताए ।
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गतेसम्म, ७ गतेदेखि १३ गते र १४ देखी २१ गते सम्म निषेधाज्ञा जारी गरीएको थियो ।




