काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरूद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा हुने भएको छ ।
आज पेशी तोकिएका रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा तोकिएका हुन् । साथै सांसद नभएका ७ मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित परेको रिटसम्बन्धी मुद्दाको सुनुवाइ पनि प्रधानन्यायाधीश राणाले नै गर्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । प्रधानमन्त्रीको उक्त क्रियाकलापले संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा ४ रिट निवेदन परेका थिए ।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालसमेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका हुन् । जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
त्यस्तै सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने पनि रिट निवेदनमा माग गरिएको छ । गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैरसांसदलाई दोहोर्याएर मन्त्री बनाएको भन्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित रिट परेका थिए । ती रिट निवेदनमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।




