कोरोना कहरमा जीवनरक्षा

  • माधव अधिकारी

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।

तर, लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । यस्तो बेला कसरी आफूलाई बलियो बनाउने ? र कस्ता कस्ता सावधानी अपनाउने ? पढौं एक सामग्री :-

भयबाट बचौँ :-
कोभिड-१९ महामारीले सिङ्गो विश्वलाई आफ्नो चपेटामा पारेको छ । नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहरले आम जनमानसलाई भयाक्रान्त बनाएको छ । कोरोना महामारीका कारण चारैतर्फ नकारात्मकताको माहोल बनेको छ । समाचार पत्र, टेलिभिजन च्यानल र सामाजिक सञ्जालसम्मे केवल कोरोनासँग सम्बन्धित समाचार मात्र देख्न पाइन्छ । कोरोना संक्रमणका यति धेरै मामिला छन् कि अस्पतालमा गम्भीर बिरामीलाई शय्याको अभाव छ, अक्सिजनको कमी छ ।

दिनानुदिन संक्रमितको ज्यान गइरहेको छ, आर्यघाटमा पार्थिव शरीरको लाइन लाग्ने सम्भावना बढेको छ । स्वास्थ्य व्यवस्था कोरोना संक्रमितभन्दा अगाडि नै हतप्रभ भएको छ । यी तमाम खबरका कारण देशमा कयौँ व्यक्ति अवसादको शिकार भइरहेका छन् । कसैलाई जागिर जाने तनाव छ त कसैलाई आफ्नो परिवार र बालबालिकाको चिन्ता । दैनिक ज्यालादारीमा जीविका चलाउने मजदूरलाई निषेधाज्ञा भएपछि कसरी भोजनको जोहो गर्ने भन्ने चिन्ताले पिरोलेको छ । कतिपयको मस्तिष्कमा आत्महत्यासम्मको विचार उत्पन्न हुने खतरा छ । कोरोना महामारीले मानिसलाई मनोवैज्ञानिक हिसाबले भित्रसम्म तोडिदिएको छ ।

कोरोना महामारीको यस दौरानमा उत्पन्न अवसाद, नकारात्मकता र डरको कडा प्रतिकार आवश्यक छ । यस महामारीबाट मृत्युको जुन भय पैदा भएको छ, त्यसबाट बच्नु जरुरी छ । महामारीबाट बच्नु सरल छ तर त्यसको कारण उत्पन्न हुने भयबाट जोगिन कठिन छ । मानिस महामारीबाट कम , सो को कारण उत्पन्न हुने त्रासबाट बढी मर्छन् । डरभन्दा खतरनाक भाइरस संसारमा कुनै छैन । यस डरलाई बुझौँ, अन्यथा मृत्युभन्दा पहिले नै हामी एक जिउँदो लास बन्छौँ ।

यस भयावह परिस्थितिको सम्बन्ध भाइरससँग कम हाम्रो मानसिकतासँग सम्बन्धित छ । महामारीका दौरान एक सामूहिक पागलपनको स्थिति पैदा हुन्छ जुन विश्वमा एक अन्तरालपछि सदैव घट्दै आइरहेको छ । प्रशासनिक आदेश, सरकारको निर्देशन र स्वास्थ्य मापदण्डकोे अक्षरशः पालन गरौँ । महामारीका अतिरिक्त सृजनात्मक कार्यमा ध्यान केन्द्रित गरौँ । साहित्य, संगीत, कला, योग, ध्यान यस समयमा हाम्रा असल मित्र बन्न सक्छन् ।

यस सन्दर्भमा बौद्ध धर्मग्रन्थमा उल्लेखित एक कथा प्रासङ्गिक छ । एक पटक भारतको वैशालीमा एक महामारी फैलिएको थियो । मानिसको मृत्यु कुकुरको समान थियो । इतिहासमा कहिल्यै वर्णित नभएको मृत्युको ताण्डव नृत्य भइरहेको थियो । मृत्युको यस्तो विकराल रूप मानिले कहिल्यै देखेका र सुनेका थिएनन् । सबै उपाय निरर्थक भइसकेका थिए । कुनै मार्ग नदेखेर लिच्छवी राजा राजगृह गई भगवान बुद्धलाई वैशालीमा ल्याए। भगवान बुद्धको उपस्थितिले मात्र मृत्युको नाङ्गो नाच विस्तारै शान्त भएको थियो । कथाले ध्यानका कारण महामारीसँग लड्ने क्षमताको प्रादुर्भाव हुनेतर्फ सङ्केत गरेको छ । मृत्युमाथि अमृतकै विजय हुन्छ ।

मनोबल उच्च राखौँ :-
कोरोना महामारीको दोस्रो श्रृङ्खलाले हामीलाई भयाक्रान्त बनाएको छ । मानिसहरुमा डर, चिन्ता , भय र तनाव बढेर गएकोछ । विपत्तिको बेला सामान्य तनाव हुनु स्वभाविक नै हो तर लामो समयसम्मको चिन्ता भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउछ । कोरोनाको संक्रमणलाइ जित्न रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनुपर्छ । संक्रमणसँग लड्न शरिरमा रोग प्रतिरोधात्मक शक्ति आवश्यक पर्छ भने मानसिक वा मनोबैज्ञानिक रुपमा मनोवल उच्च हुनुपर्छ ।शारीरिक रुपमा स्वस्थ्य हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन संतुलित खानपिन , व्यायाम , प्रयाप्त आराम र निन्द्रा जस्ता कुरामा आवश्यक पर्छ । कुनै कार्यमा सफलता पाउन , कुनै घटना वा परिस्थितिको सामाना गर्न व्यक्तिमा भएको मनोबलले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। आत्मबल उच्च भएको व्यक्तिमा आत्मविश्वास पनि उच्च नै हुने गर्दछ ।

कोरोनाको संक्रमणलाई जित्न मनोवल उच्च बनाउनु पर्छ। कोरोनाको वास्तविक भ्याक्सिन भनेकै उच्च मनोबल हो । आत्मबल बढाउन सुरक्षाका उपाय अपनाउनु पर्छ, कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ , परिस्थिति प्रति सकारात्मक धारणा लिनुपर्छ र तनाव व्यवस्थापन गर्नुपर्दछ । निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । आफुलाई मन पर्ने पुस्तक पढ्ने , चलचित्र हेर्ने , संगीत सुन्ने , लेखरचना लेख्ने , आफ्नो आस्था विश्वास अनुसार धार्मिक कार्यमा भाग लिने , पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा संलग्न भई दैनिकीलाई सहज बनाउन सकिन्छ । अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुदैन । दुःखद् समाचार पटक पटक हेर्दा र सुन्दा हामीमा निराशा बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।यदि हाम्रो मृत्यु वर्तमान महामारीका कारण नभए पनि एक न एक दिन कालगतिले त अवश्य हुन्छ । तसर्थ अनावश्यक चिन्ता नलिऔँ ।

यसपटकको नयाँ प्रजातिको कोरोना भाइरसको महामारी विगतको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, अत्यन्त थकान महसुस हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये कुनैपनि लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गराऔँ ।

आइसोलेसनमा बस्दा सावधानी अपनाऔँ :-
प्रायः तपाईंको कोठाको ढोका बन्द राख्नुहोस् ।खाना दिन आउने बेलामा बच्चा र वृद्धभन्दा पनि उमेरदार मान्छेलाई खाना दिन बोलाउनुहोस् ।खाना खाइसकेपछि भा“डा माझ्नुहोस् र सरसफाइ गर्नुहोस् । सकेसम्म मान्छेस“ग दूरी बनाएर कुरा गर्नुहोस् । १४ दिनको लागि ३–४ जोडी कपडा लिनुहोस् र दराज त्यतिबेलासम्मको लागि बन्द गर्नुहोस् ।प्रयोग गरिएको मास्कलाई सेनिटाइज गर्नुहोस् र त्यसलाई पोलिथिनमा राख्नुहोस् । १४ दिनपछि त्यसलाईस“गै डिस्पोज गर्नुहोस् ।कोरोनामुक्त भएपछि पूरै कोठालाई सेनिटाइज गर्नुहोस् । प्रयोग गरिएको तौलिया र अन्य कपडा धुनुहोस् र तिनीहरूलाई घाममा सुकाउनुहोस् । १४ दिनपछि चिकित्सकको सल्लाहमा परिवारका सदस्यलाई भेट्ने र पुरानै दैनिकीमा फर्किन सक्नुहुनेछ ।

  • होम आइसोलेसनमा बस्दा दैनिकी यसरी व्यवस्थित गर्न सकिन्छ :-

१. बिहान ६ बजेसम्म उठि सक्ने÷उठ्ने
२. कम्तीमा आधा घण्टा योग तथा शारीरिक व्यायाम गर्ने
३. सात बजे एक गिलास तातो कागती पानी खाने
४. साढे ७ बजेदेखि ८ बजे भित्रमा नास्ता खाइसक्ने
५. साढे आठ बजे भित्र फेरी मन तातो दूधमा बेसार हालेर खाने
६. ९ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
७. साढे नौं बजेसम्ममा बिहानको खाना खाने
८. १० बजे एक–एक क्याप्सुल भिटामिन बी,सी र ई खाने
९. साढे दश बजे एक गिलास तातोपानी (अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
१०. ११ बजे एक कप चिया पिउने
११. दिउसोको १२ बजे एक गिलास तातो कागति पानी पिउने
१२. १ देखि २ बजे भित्र खाजा खाने
१३. ३ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
१४. ४ देखि ५ बजेसम्म आराम गर्ने
१५. साढे पा“च बजे फेरी एक गिलास अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
१६. बेलुकाको ६ देखि ७ बजेसम्म फेरि एक घण्टा योग तथा शारीरिक व्यायाम गर्ने १७. ७ बजे एक गिलास तातो कागती पानी पिउने
१८. साढे सातदेखि साढे आठ बजेसम्ममा रातीको खाना खाने
१९. ९ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
२०. साढे नौं बजे फेरि एक गिलास अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
२१. सुत्नुअघि एक गिलास मन तातो दूधमा बेसार हालेर खाने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस