काठमाडाैँ । अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको छ ।
युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको अधिकारीहरूले बताएका छन् । सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए ।
ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाभियोग लगाइएको थियो । बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा छापा मारिएको थियो । न्यूयोर्क टाइम्सका अनुसार अधिकारीहरूले त्यहाँबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेका छन् ।
युक्रेन सम्बन्ध
युक्रेन सरकारको तर्फबाट जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेका थिए कि भन्ने बारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
साथै गत वर्षको राष्ट्रपतिय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ । यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको बताइएको थियो ।
साथै ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन पनि मुख्य भूमिका खेलेको बताएका थिए । बाइडन तथा उनका छोराले सबै आरोपको खण्डन गरेका थिए । हाल हन्टर बाइडनले एक असम्बन्धित आपराधिक कर मामिलामा अमेरिकी न्याय मन्त्रालयको अनुसन्धान बेहोरिरहेका छन् । –बीबीसी




