दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ऋषिङ-४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मृतक सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका हुन् भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन् । कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनी दमौली फर्किँदैथिए । ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।




