वीरगञ्ज फेरि कोरोनाको ‘हटस्पट’ बन्दै, आजदेखि १-५ कक्षासम्मको पठनपाठन बन्द

वीरगञ्ज । कोरोना महामारीको पहिलो लहरका बेला ‘हटस्पट’ बनेको वीरगञ्जको अवस्था फेरि भयावह बन्दै गएको छ । कोरोनाको दैनिक परीक्षणमा आधामा संक्रमण देखिन थालेपछि स्थानीय चिन्तित छन् ।

आइतबार ९६ जनाको परीक्षण गर्दा ६१ जनामा कोरोना देखिएको छ । वीरगञ्जमा पछिल्लो नौ दिनमा मात्रै २५१ संक्रमित थपिएका छन् । शनिबार ९० जनाको परीक्षण गरिँदा ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाकै कारण वीरगञ्जमा यो एक सातामै पर्सा र बाराका गरी पाँच जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सालाई कोरोनाको अति जोखिमको जिल्लामा सूचीकृत गरेको छ । ‘वीरगञ्जको अवस्था नियन्त्रण बाहिर गएको छ’, नारायणी अस्पतालका डा. नीरज सिंहले भने, ‘यो वैशाख महिनाले पोहोरको असार–साउनको याद गराइरहेको छ ।’ चैत अन्तिम सातायता देखिएको संक्रमण वृद्धि दरले कोरोना समुदायमै फैलिसकेको पुष्टि भएको उनले बताएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाले आज (सोमबार) देखि नगर क्षेत्रमा कक्षा ५ सम्मको पठनपाठन बन्द गरेको छ । कोरोना संक्रमण दर तीव्र बनेपछि वीरगञ्ज महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गरिएको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर कक्षा १ देखि ५ सम्मको पठनपाठन आज (सोमबार) देखि बन्द गरिने जानकारी दिएको हो । महाशाखाका शिक्षा अधिकृत हरि राउतले कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गरिएको जानकारी दिए ।

‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा १–५ सम्मको सम्पूर्ण पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण विद्यालयलाई अनुरोध छ,’ शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमण तीव्र बनेपछि वीरगञ्ज महानगरपालिकाले माथिल्ला कक्षाको जेठमा सञ्चालन गरिने परीक्षा पनि वैशाखमै गर्ने गरी तालिका सार्वजनिक गरेको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा आगामी जेठ ४ गतेबाट गर्ने भनिएको थियो । कोरोना संक्रममण तीव्र बनेपछि वैशाख १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा पनि वैशाख १२ गतेबाटै सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीबीच सामाजिक दूरी कायम गर्न, साबुन–पानीले हात धुने, सेनिटाइजर दल्ने र मास्क लगाउने व्यवस्था अनिवार्य गर्न पनि शिक्षा महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस