लुजैना अल-हथलुललाई सन् २०१८ मा पक्राउ गरिएको थियो

महिलाले सवारी चलाउन पाउने पक्षमा वकालत गर्दा अधिकारवादीलाई जेल

काठमाडौं । साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ । उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन ।

३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ ।

उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ । हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ ।

हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् । साउदी अधिकारीहरूले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएका छन् ।

हथलुलको परिवार के भन्छ ?
हथलुल परिवारले पक्राउपछि उनलाई प्रशासनले तीन महिनासम्म सम्पर्कविहीन बनाएको र उनलाई करेन्ट लगाइनुका साथै कुटपिट गरिएको अनि उनी यौन उत्पीडनको सिकार भएको आरोप लगाएको छ ।

आफूलाई जेलमा यातना नदिइएको बताउने सर्तमा उनलाई रिहा गर्ने प्रस्ताव राखिएको परिवारको दाबी छ । मानव अधिकारवादहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएका छन् । गत नोभेम्बरमा मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरन्याशनलले उनी विरुद्धको मुद्दा आतङ्कवादविरुद्धको अदालतमा लगिएको विषयको निन्दा गर्दै त्यसले साउदी निकायहरूको ‘क्रूरता र पाखण्ड’ उजागर गरेको बताएको थियो ।

पछिल्लो घटनाले साउदी अरबको नेतृत्व र त्यसमा पनि खास गरी एमबीएस भनेर चिनिने शक्तिशाली युवराज मोहम्मद बिन सलमानको निम्ति थप हानिकारक हुने ठानिएको छ । उनले पुरातनपन्थी राज्यलाई लगानीमैत्री बनाउनका लागि विभिन्न सुधारका कार्यक्रमहरूको नेतृत्व गरिरहेका छन् । त्यसमा महिलालाई गाडी चलाउन दिने अधिकार पनि पर्छ । –बीबीसीबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस