डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड-१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् ।
बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी संख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका-१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए । उनले भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि उल्लेख्य सहभागी बढेको छ ।’
जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल २०० को हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका-४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए ।




