बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ । विगत ९ महिनादेखि कोभिड–१९ का कारण प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।
बिहीबार बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाजबाट औपचारिक रुपमा नियमित उडानको शुरुवात गरिएको हो ।
निगमका अनुसार आज ११:२० बजे काठमाडौंबाट दिल्लीको लागि पहिलो उडान उडेको हो।
दिउँसो २ बजे दिल्ली-काठमाडौं उडान हुनेछ। यो गन्तव्यका लागि निगमले एकतर्फी न्यूनतम उडान शुल्क करिब १४ हजार रुपैयाँ निर्धारण गरेको छ।
गत चैतदेखि कोभिडका कारण रोकिँदै आएको काठमाडौं–दिल्ली नियमित उडान खोल्ने विषयमा लामो समयदेखि तयारी भइरहेपनि केही समयअघि मात्र नेपाल सरकार र भारत सरकार फ्लाइट खोल्न तयार भएका हुन् ।
सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।




