यो साता विदेशमा कोरोनाबाट थप तीन नेपालीको मृत्यु

काठमाडौ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा एक सय ९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा एक जना र युएईमा दुुई जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार सात सय एक जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार पाँच सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा मात्र ३७ हजार तीन सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार पाँच सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म चार सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री