ट्रम्पले फेरि भने- कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् ।

आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ ।

उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ ।’

हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ । ट्रम्पले भने यो औषधि कोरोना संक्रमितलाई पनि प्रभावकारी हुने दोहोर्याएका छन् ।

ट्रम्पले सबैभन्दा पहिले गत मार्च महिनामा कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि उपयोग गर्न सकिने बताएका थिए ।

७३ वर्षीय ट्रम्पले गत मे महिनामा कोरोनाबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको बताएका थिए । उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै १४ दिनसम्म यो औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नभएको बताए ।

उनले भने, ‘मलाई लाग्छ, सुरुवाती स्टेजमा यो औषधि प्रभावकारी हुन्छ । यसको प्रयोगबाट तपाईंलाई कुनै हानी हुँदैन । नत्र यो यति लोकप्रिय हुँदैनथ्यो ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वका अन्य वैज्ञानिकहरुले भने कोरोनाको औषधि हालसम्म पत्ता नलागेको बताएका छन् । उनीहरुले हाइड्रोक्सिक्लोरोक्विन औषधि आफूखुसी खाँदा मुटुमा नकारात्मक असर पर्ने चेतावनीसमेत दिएका छन् ।

गत जुन महिनामा अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न चेतावनी जारी गरेको थियो ।

हालै ट्रम्पका जेठा छोराले हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रशंसा गर्दै शेयर गरेको एक भिडियोलाई ट्वीटरले १२ घण्टाको लागि हटाइदिएको छ ।

अनलाइनखबरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस