निर्मला हत्याको दुई वर्ष पूरा: के अब निर्मलाले न्याय पाउलिन् ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज दुई वर्ष पूरा भएको छ । तर, अझै यो हत्या सुल्झिएको छैन ।

यो दुई जर्षको अवधिमा अपराध अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीमा दुई जना प्रमुख (आइजिपी) फेरिएपनि निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छ‌ैनन् । प्रहरीले अनुसन्धान जारी नै रहेको बताउनेबाहेक कुनै उपलब्धि हात पार्न सकेको छैन ।

०७५ साउन १० मा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट छ । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल घटनाको अनुसन्धान टुंगोमा पुर्‍याएर दोषीलाई दण्डित गर्न सफल भएनन् ।

२९ माघ २०७६ मा नेपाल प्रहरीको २७ औं महानिरीक्षक बनेका ठाकुरप्रसाद ज्ञवालीले करिब ५ महिनाको कार्यकालमा उक्त मुद्दाको फाइलसमेत खोल्न सकेनन् । यद्यपि आईजीपी नियुक्त भएर पदभार ग्रहण गरेकै दिन उनले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुर्‍याउने वचन दिएका थिए । तर त्यो वचन पूरा गर्न गरेनन् अथवा उनको कार्यकाल छोटो भएर अनुसन्धानलाई गहिराइमा पुर्याउन भ्याएनन् ।

अन्ततः प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले चासो देखाएका छन् । यो घटनालाई आफ्नो प्राथमिकतामा राख्दै आईजीपी क्षेत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीलाई निर्देशन दिएका छन् ।

‘सीआईबीले घटनाको अनुसन्धान गरिरहेको छ,’ सीआईबी प्रमुख डीआईजी थापाले भने, ‘आईजीपी साबले यसलाई प्राथमिकतामा राख्नुभएको छ । यो केसलाई गम्भीर भएर हेर्न प्रदेश प्रमुख र सीआईबीलाई निर्देशन भएको छ ।’ आईजीपीको निर्देशनसँगै सीआईबीले अनुसन्धानमा पोख्त विशेष टोलीलाई कञ्चनपुर पठाउने तयारी गरिरहेको छ ।

दर्जनौं समिति तर, घटना गर्भमै
निर्मला हत्या प्रकरणको अनुसन्धानकै लागि दर्जनौं समिति गठन भए । घटनास्थलमा प्रहरीको टोली धेरै पटक खटियो । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्‍यो ।

राष्ट्रिय मानवअधिकार आयोग लगायत मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि कञ्चनपुरको उल्टाखाममा पुगे । हरेक समितिका फरकफरक तथ्य बाहिर आए । तर न हत्याराको पहिचान हुन सक्यो न पीडितलाई न्याय ।

घटना भएको २४ औं दिन ४ भदौ २०७५ मा प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपछि कञ्चनपुरमा तनाव भयो । निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गर्न माग राखेर आन्दोलन चर्कियो ।

विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि उनी छुटेका थिए । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो ।

अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराम विष्ट र इलाका प्रहरी प्रमुख बर्खास्त भएका थिए । सीआईबीले २र२ महिनाको अन्तरमा विभिन्न टोलीहरु पठाएपनि अभियुक्त पत्ता लगाउन सकेनन् ।

यी अन्यौलकाबीच गत असारमा नयाँ प्रहरी प्रमुखका रुपमा शैलेश थापा आएपछि निर्मला हत्याकाण्डको अनुसन्धान ब्युताउने तयारी भएको छ । अब अनुसन्धानबाट वास्तविक हत्याराको पहिचान लाग्ला ? र पीडितले न्याय पाउलान् ! यो प्रश्न अझै आम मानिसको मनमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस