बिल गेट्स र ओबामासहित विश्व चर्चित ब्यक्तिको ट्वीटर एकाउण्ट ह्याक

काठमाडौं । बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन् ।

हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन् । उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन् । हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन् ।

ह्याकरले के गरे ?
ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो ।

“मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,” बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु ।” सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ ।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो । “कोभिड-१९ का कारण म उदार भइरहेको छु,” बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो ।

पुरानै रोग तर ‘अनपेक्षित’
ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए । निलो ‘टिकमार्क’ सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ ।

विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन । बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीका भनाइमा ‘बिटक्वाइन दोबर पार्ने’ काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो । उनी भन्छन्- “तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो ।”

यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ । ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ । बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस