काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको विषयलाई आजको समयमा आरोप, प्रत्यारोप वा प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै शाहले नेपालको एकीकरण, स्वाधीनताको संरक्षण कसले र कोबाट भयो भन्ने सबैको हेक्काको विषय भइसकेको बताएका हुन् । उनले त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जानसक्नुपर्ने भन्दै विज्ञप्तिमा विगतबाट पाठ सिक्नुपर्ने धारणा राखेका छन् ।
भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका विषयलाई लिएर युवाहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले प्रश्न गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’
उनले देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छन् ? भन्दै प्रश्न गरेका छन् । ‘रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धी सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ?’ उनले प्रश्न गरेका छन् ।
पूर्वराजा शाहले अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताए ।
विषम परिस्थितिका कारण जन्मोत्सव नमनाउने घोषणा
हरेक वर्ष आफ्नो जन्मदिन धुमधामसँग मनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने बताएका छन् । पूर्वराजा शाहले विज्ञप्तिमार्फत सो जानकारी गराएका हुन् ।
असार २३ गतेबाट उनी ७४ वर्षमा प्रवेश गर्न लागेका पूर्वराजाले विषम स्थितिलाई दृष्टिगत गर्दै जन्मदिन नमनाउने निर्णयमा पुगेको सचिवालयमार्फत जानकारी गराएका हुन् । शाहको भनाइ उद्धृत गर्दै सचिवालयले निकालेको सन्देशमा भनिएको छ, ‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु ।’



