काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ८७ हजार बढीको मृत्यु भएको छ ।
पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ८७ हजार ९ सय २ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ६५ लाख ६७ हजार ५८ भन्दा धेरै छ भने संक्रमितमध्ये हालसम्म ३१ लाख ६४ हजार २६० निको भएका छन् ।
सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या १९ लाख १ हजार ४९३ पुगेको छ । कुल संक्रमितमध्ये ६ लाख ८४ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसको महामारीले संख्या ३२ हजार ११७ बढीको मृत्यु भएको छ । एकै दिन २० हजार ७४५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ७७ हजार ४१३ पुगेको छ । २ लाख ७९ हजार १६४ जनाको उपचार भइरहेको छ भने २ लाख ६६ हजार १३२ जना संक्रमण मुक्त भएका छन् ।
रुसमा कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ । २ लाख ३१ हजार १०५ जनाको उपचार भइरहेको छ भने १ लाख ९५ हजार ९५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ८८ बढीको मृत्यु भएको छ । एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।




