देवदहकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या

काठमाडौं । रुपन्देहीको देवदह-११ की किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । किशोरीलाई जबर्जस्ती गर्ने केटाकै जिम्मा लगाइएपछि उनी मृत फेला परेकी थिइन् ।

शव पोस्टमार्टम गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरीको बलात्कारपछि हत्या भएको देखिएको हो । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक हेमकुमार थापाका अनुसार थप पुष्टि गर्न फरेन्सिक जाँच गर्ने तयारी गरिएको छ ।

मंगलबार गरिएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार भएको देखिएपछि थप पुष्टिका लागि फरेन्सिक जाँच गर्न नमुना काठमाडौं पठाइएको थापाले बताए । १३ वर्षीया अंगिरा पासी गत शनिबार अपराह्न गाउँनजिकै देवदह-२ स्थित रोहिणी खोला किनारमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

शुक्रबार राति घरबाट निस्केकी उनलाई खोज्ने क्रममा गाउँलेले कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्तीनजिकको खरियानमा भेटेका थिए । स्थानीयका अनुसार गाउँले पुगेर प्रश्न गर्न थालेपछि वीरेन्द्र भागे भने किशोरीलाई घरमा ल्याए । त्यसपछि किशोरीले ‘इज्जत’ फालेको भन्दै गाउँभेला गरिएको थियो । भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गर्‍यो ।

अभियोगमा जाहेरी दर्ता
रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ । प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन ।

घटनाबारे समाचार प्रकाशित भएपछि अधिकारकर्मीहरूको दबाबपछि मंगलबार प्रहरीले जाहेरी लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलमा मृतक किशोरीका आमा शान्ति पासीले जबर्जस्ती करणी गरेको व्यक्तिलाई बचाउन समाजका अगुवाहरूले उमेर नै नपुगेको छोरीलाई घर भित्र्याएर हत्या गरेको जाहेरी उल्लेख गरेकी छन् ।

जाहेरीमा २५ वर्षीय वीरेन्द्र भर, उनकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया सितली भरलाई विपक्षी बनाई मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीत सिंह राठौरले जानकारी दिए । गत जेठ १० गते वडा ११ का अध्यक्ष अमरबहादुर चौधरी र समाजका अगुवाले वीरेन्द्रलाई बचाउन उमेर नै नपुगेकी किशोरीलाई बचाउन जबर्जस्ती घर भित्र्याइ दिएका थिए ।

किशोरीलाई वीरेन्द्रले घर लगे पनि आमा अकालीले कथित तल्लो जातको बुहारी ल्याएको भन्दै घर प्रवेश गर्नमा रोक लगाएकी थिइन् । किशोरीलाई कुटपिटसमेत गरेको मृतककी आमा शान्तिले बताइन् । घटनापछि केटा पक्षबाट धम्कीसमेत आएको किशोरी ठूलोबुवा बलिराम पासीले बताए । उनले केटा पक्षले आर्थिक प्रलोभनसमेत देखाएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस