इजरायलमा नेपाली राजदूत डा. शाक्यलाई सम्मान

काठमाडौं । इजरायलको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् ।

विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९-२०२०’ डा. शाक्यलाई दिइएको हो । उनी यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुन् । राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शीर उच्च बनाएको बताइन् ।

विसं २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आएकी छिन् । कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिएका थिए ।

केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो ।

पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री