काठमाडौं । केहि दिनयता खुकुलो देखिएको लकडाउन आजदेखि झन कडा भएको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाई गरिएको हो ।
राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको छ । सोही अनुसार लकडाउनलाई कडाई पारिएको हो ।
उपत्यका भित्रिने नागढु्ङ्गा नाकामा चेकजाँचलाई थप कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज पोखरेलले बताए । दैनिकजसो बाहिरी जिल्लाबाट मानिसहरू उपत्यका भित्रिन थालेपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा चेकजाँचलाई थप कडाइ गरिएको उनको भनाइ छ ।
त्यस्तै, उपत्यकामा सडकमा हिँड्ने पैदल यात्रुलाई पनि प्रहरीले नियन्त्रण लिने भएको छ । पत्रकारलाई पनि अनिवार्य सूचना विभागको परिचयपत्र बोक्न निर्देशन दिएको उनले बताए । यता, गृह मन्त्रालयले पनि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाएको छ ।



