छाङरुमा सशस्त्रको विओपी बसेपछि स्थानीयमा छायो खुशी

दार्चुला । सरकारले दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गरे ।

दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना गरिएको हो । बिओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ ।

कठिन परिस्थितिमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीअनुसार सामरिक महत्वको ब्यासमा बिओपी स्थापना गरेको एआइजी थापाले बताए । बिओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर बीओपी गएको थियो ।

भारतले एकतर्फीरूपमा कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा सुरक्षार्थ बिओपी स्थापना गरिएको हो । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

सीमामा सशस्त्र खटिएपछि जिल्लावासी खुशी
राज्यको कमजोर उपस्थिति रहेको व्यास गाउँपालिकाको वडा नं १ मा सरकारले पहिलो पटक दार्चुलाको कालापानी नजिकै रहेको बीओपी बस्तीको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेपछि जिल्लावासी खुशी भएका छन् ।

छ महिना मानवविहीन हुने यो क्षेत्रमा बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि सीमा अतिक्रमण समेत रोकिने जिल्लावासीको विश्वास छ । समुद्री सतहबाट तीनदेखि पाँच हजार मिटर उचाइसम्म रहेको व्यास गाउँपालिकामा अब सशस्त्र प्रहरीको नियमित गस्ती हुनेछ ।

सरकारले पहिलो चरणमा व्यासको छाङ्गरुस्थित गागामा बिओपी स्थापना गर्ने गत मंसिरमा निर्णय गरेको थियो । तर भवनलगायत पूर्वाधार अभाव र बाटोघाटो समेत नहुँदा सशस्त्र प्रहरीलाई व्यास पु-याउन सकिएको थिएन ।

गत शुक्रबार भारतले एकाएक नेपाली भूमि, कालापानी लिपुलेक हुँदै चीनको सीमा जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेपछि सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी पठाएको हो ।

सशस्त्र प्रहरीलाई नेपाली सेनाको एनए–०५७ नम्बरको हेलिकोप्टरमार्फत व्यासको गागा झारिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाबाट प्रहरी निरीक्षक लिली चन्दको नेतत्वमा २५ जनाको सशस्त्र प्रहरी छाङ्गरुमा खटाइएको एआइजी नारायणबाबु थापाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस