काठमाडौँ ।घरबिदा मिलेपछि उदयपुरको बेलका नगरपालिका-५ का सन्तोष थापा गत फागुनमा कतारबाट घर फर्किएका थिए । कोरोना संक्रमण व्यापक हुन थालेपछि र नेपालमै पनि लकडाउनको घोषणा भएपछि उनी घरमै समय कटाइरहेका थिए ।
उनलाई दस महिनाअघि सन्तोषकै पहलमा कतार पुगेका जेठा दाइ मीनबहादुरको चिन्ता थियो । कतारमा पनि कोरोना संक्रमण सुरु भएपछि दाइ कामविहीन भएकोमा भन्दा धुमधुम्ती कोठामा बसेर कसरी समय कटाइरहेका होलान् भन्ने चिन्ता थियो ।
गत चैत १९ गते दिउँसोतिरको कुरा हो । उनी श्रीमती, बाबु, आमा, भाउजू र दुई भतिजासँग घरमै गफ गरेर बसिरहेका थिए । कतारबाट आएको फोनले उनको होस उडाइदियो । सन्तोषले आफैंलाई थाम्न सकेनन् ।
सन्तोषले सुनाए, ‘अघिल्लो राति खाना खाएर सुतेका दाइ बिहान अबेरसम्म पनि नउठेपछि कोठामा बस्ने अरू साथीले उठाउन खोजेछन् तर उहाँको निधन भइसकेको रहेछ ।’ उनलाई फोन गर्ने कम्पनीका प्रतिनिधिले मीनलाई हृदयाघात भएको र शव सनैयानजिकैको एक अस्पतालमा राखिएको जानकारी दिए । मीन सनैया क्षेत्रकै एक सुपरमार्केटमा काम गर्थे ।
गाउँमा कामविहीन भएपछि दाइलाई कमाइको बाटो पनि हुने भनेर सन्तोषले दस महिनाअघि सारा प्रबन्ध मिलाएर कतार झिकाएका थिए । उनले सुनाए, ‘यस्तो संकटका बेला महासंकट आइलाग्यो ।’
जेठो छोराको मृत्युको खबरले सन्तोषको घरमा थपिएको चिन्ता जारी कोरोना सन्त्रास र लकडाउनले दोब्बर बनाइदिएको छ । सन्तोषका अनुसार मृत्युको खबर सुनेलगत्तै भाउजू कैयौं पटक बेहोस भइसकेकी छन् । उनले भने, ‘दुईचोटि त स्लाइन चढाउनुपर्यो ।’
६५ वर्षीय बाबु र ५८ वर्षीया आमाछोराको शोकले गलिरहेका छन् । सन्तोषले सुनाए, ‘शव कहिले ल्याउने हो भनेर टुंगो नलाग्दा शोक दोब्बर भएको छ ।’ त्यसो त उनको परिवारले केही उपाय लगाएर शव ल्याउन सकिन्छ कि भनेर स्थानीय प्रशासन र कतारस्थित नेपाली दूतावासमा तारन्तार बुझिरहेका छन् । ‘अहिलेसम्म केही उपाय भेटिएका छैन,’ सन्तोषले भने, ‘कहिलेसम्म शोक बारेर बस्ने भन्ने भयो ।’
वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको औसतमा दैनिक तीनवटा शव नेपाल आउने गर्दछ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै श्रम गन्तव्य देशमा मृत्यु भएका ८ सय ६४ कामदारको शव नेपाल आएका थिए । चैत ११ गतेबाट लकडाउन सुरु भएयता अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण मीनजस्तै दर्जनौं कामदारको शव श्रम गन्तव्य देशमै थन्किएको छ ।
लकडाउन कहिले खुल्ने र कहिलेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भन्ने अनिश्चित बन्दै जाँदा प्रवासमा ज्यान गुमाएकाका आफन्तले धार्मिक विधिपूर्वक काजकिरिया गर्न पाएका छैनन् । सन्तोषले दाइको शव नआउन्जेल घरका सबै सदस्यले सकेसम्म चोखो खाएर बसिरहेको सुनाए ।
उनले भने, ‘अब के गर्नु, के नगर्नु भनेजस्तो भएको छ । शव मात्रै ल्याउन पाए पनि हुन्थ्यो भनेर दिन गनेर बस्या छौं ।’ कोरोना संक्रमणका कारण उदयपुर जिल्ला हटस्पटका रूपमा रहेका कारण सन्तोषको घरमा सान्त्वना दिन आफन्त पनि आउन पाएका छैनन् ।
उनका अनुसार भाउजूको भोजपुरस्थित माइतीबाट पनि आमाबाबु छोरीलाई सान्त्वना दिन आउन सकेका छैनन् । उनले भने, ‘माइती र अन्य आफन्तीले सम्झाइबुझाइ गर्दा पनि भाउजूको मन हलुंगो हुन्थ्यो ।’
खाडी देशमा कोरोना संक्रमण फैलिँदै जाँदा र लकडाउन कहिले खुल्ने र अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुनिश्चित हुने भन्ने टुंगो नलाग्दा श्रम गन्तव्य देशमा नेपाली श्रमिकको शव थुप्रिन थालेको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार लकडाउनयता ९४ नेपालीको शव विभिन्न श्रम गन्तव्य देशमा रहेको बताए ।
उनले साउदी अरब, मलेसिया र कतारमा धैरै नेपालीको शव रहेको र तिनलाई कहिले र कसरी ल्याउने भन्ने अन्योल रहेको बताए । बोर्डले श्रम गन्तव्य देशमै शवको दाहसंस्कार गर्नका लागि मृतक परिवारबाट लिखित सहमति लिने प्रयास सुरु गरेको छ ।




